साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक भएको छ । बुह्रान क्षेत्रमा बस्ने थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासको आवरण सांग्रिला बुक्सले सार्वजानिक गरेको हो ।
उपन्यासकार ढकालका नुसार ‘बुह्रान’ उपन्यास जातीय समानता र सहकार्यको कथा हो । जहाँ गरीब थारूहरूको सपनाले यात्रा गरेको छ । गाँस, बास र कपासका लागि थारूहरूको रोजाइमा प
रेको बुह्रानको कथा हिमालकी निमाले पहाडकी पार्वती र तराईका माइला थारूलाई प्रमुख पात्र बनाएर उधिनेकी छन्। थारू संस्कार र संस्कृतिलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मूल्यांकन गरिएको छ । बसाइँसराइका बाध्यता एवं थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलही प्रथाबाट र्सिजित अवस्था समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्तर्जातीय विवाह महत्त्वपूर्ण हुन सक्ने कुरा औंल्याएको छ।
समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइलामध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआएका कारणको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलही, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा ढकालले बताए ।
विभिन्न विधामा कलम चलाउँदै आएका ढकालले साहित्यलाई संस्थागत रूपमा अगाडि बढाउन गरेको योगदान महत्वपूर्ण मानिन्छ। कविता लेखनबाट साहित्यमा प्रवेश गरेका उनका ‘खण्डित आत्मा’ गजलसंग्रह (२०५८), ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजलसंग्रह (२०५९), ‘अव्यक्त प्रत्याशा’ गजलसंग्रह (२०६३), ‘घाम उदाए’ हाइकुसंग्रह (२०६८) र सिमाना मुक्तकसंग्रह (२०७७) यसअघि नै आइसकेका छन्। आख्यानको क्षेत्रमा ‘बुह्रान’ उनको पहिलो उपन्यास हो। यो उपन्यासको आवरण कलाकार देवेन्द्र थुम्केलीले बनाएका हुन्। (याे समाचार नागरिक न्युजमा प्रकाशित छ ।)